बैशाख १२, २०७२ ।
घटटट गर्यो । हल्का घर हल्लियो ।
‘ला ! भुइचालो आयो’ । खाना खाइरहेका हामीलाई थप दाल तरकारी सोध्दै गरेका होटलवाला दाई डाडु पन्यु मिल्काएर अघि नै बाहिर पुगिसकेछन् ।
गाडिमा गियर चेन्ज गर्दाको जसरी थोरै स्लो भएर भूकम्पले छैटौं सातौ सेकेण्ड तिरबाट पिकअप लिन थाल्यो । अव त घटटटटट गरेर बेस्सरी हल्लिन थाल्यो । संगै खाना खाइरहेका साथिलाई आफुसंगै टेवल मुनी ओत लाग्न बोलाउदै गर्दा सडक पारीको घर भत्किन थाल्यो । गल्र्याम गुर्लुम आवाज हरु थपिन थाले । बचाउ बचाउ भनेका चित्कार थपिन थाले ।
एकै छिनमा निष्पट्ट अध्यारो भयो । समाइरहेको टेवलबाट कतिबेला हात खुस्किएछ पत्तै छैन । वरीपरी रुवावासी मात्र सुनिन्छ । झण्डै एक मिनेट धर्तिको सातो लिएर कम्पन रोकियो ।
कम्पन त रोकियो । तर वरिपरी पुरै निष्पट्ट अध्यारो छ । कान बन्द भए जस्तो भयो । आँखा थुनिए जस्तो भयो । गला अवरुद्ध थियो, मुखबाट आवाज निस्किएन । पाइला भारी भए जस्तो भयो । के भइरहेको छ ? के हुदैछ ? के हुन लागेको हो ? केही मेसो पाउन सकिएन ।
भत्किएका घरबाट आएको धुलो र छारोले चौताराको मध्यबजार पुरै ढाकियो । बहिर निस्केर हेर्दा नजिकमा ढुङ्गो माटोले बनेका घरहरु प्राय लडेका थिए । सिधा अगाडीको घरको छिडी मात्र बाँकी थियो । धेरै परको दृष्य देखिदैन थियो । नजिक भने सग्ला घर थिएनन् ।
‘मेरी आमा पुरिनु भो लौ न निकालौं’ नजिकैको घरबाट कुनै केटी मान्छेको आवाज थियो । हामि खाना खाइरेको होटलका होटलधनी हिरोमणीजी पनि आफ्नी श्रीमती र बच्चाहरु कता फसे भनेर रुदै कराउदै आइपुगे । मान्छेहरु पहिला आफु बच्ने प्रयत्न गरे । बचेकाहरुले परिवारका सदस्य सम्झिन थाले । अन्धकारमै तिनले आफ्ना आफन्तहरु छाम्न थाले । केहीले भेटे । नभेटिएकाहरुमा रोदन र आँसुको मात्रा बढ्दै गयो ।
ढलेका घर ढलिसकेका छन् । नढलेका घर ढल्ने तयारीमा छन् । उसै त साँघुरो चौतारा बजार झन धराप भयो । अव निस्कने ठाँउ छैन । चौतारामा खुला रहेको स्थान त्यही एउटा टुडिखेल । अव त्याँहासम्म पुग्नका लागि पनि हम्मे हम्मे थियो ।
सडकभरि बाइकको बिस्कुन थियो । घर पर्खाल भत्किएर गाडीहरु छोपिएका थिए । सडक थुनिएका थिए । बिजुली, टेलिफोनका तार लतारिएका थिए । स्थिती असाध्यै भयावह थियो । सानातिना भुकम्पको मात्र अनुभव झेलेका हाम्रा लागि बैशाख १२ को भूकम्प ठुलै विपत्ती थियो । यसरी यति ठुलो विपत्तीमा कसको भूमिका के हुने भन्ने कुनै तयारी थिएन हाम्रो । अनि यस्ता विपत्तीमा कति आत्तिने, कसरी सम्हालिने भन्ने कुराको पनि कुनै पूर्व तयारी थिएन । हामी प्राकृतिक रुपमै हल्लियौं । प्राकृतिक रुपमै धस्सियौं । प्राकृतिक रुपमै आत्तियौं । विल्कुलै ननटेक्निकल हिसावले झेल्यौं ।
मान्छेको जात न पर्यो । अफ्टेरोमा पो आफ्नो ज्यानको बारेमा मात्र सोचिने । अलिक सहज भए पछि त घर परिवार आफन्तको पनि चिन्ता लाग्दो रैछ । धुलोले आफु माथिको आकाश ढाकेको थियो । अन्धकार त यस अघि पनि विभिन्न रुपमा झेलिएको थियो । यो अलग खाले अन्धकार थियो । अन्धकारकै बिचमा छामछाम छुमछुम पारेर घस्रिदै टुडिखेल तर्फ दौडिदै गर्दा पनि प्राय मान्छेहरु मोवाइलमा डायल गरिरहेका थिए । मोवाइल फोनको बिटिएसमा ट्राफिक जाम भएर होला फोन सम्पर्क हुन सकिरहेको थिएन । तै पनि सबैका प्रयास जारी थिए
।
अवरोधलाई नाघ्दै हामि टुँडिखेल पुग्दा महिला केटाकेटीहरु रुवाबासी गरिरहेका थिए । केही मान्छे बेहोस भएर ढलिरहेका थिए । सम्हाल्नेले सम्झाउने शव्द भेटिरहेको थिएन । सम्हालिनेले मन बुझाउने उपाय भेटिरहेको थिएन । एउटी महिला आफ्नो सन्तान पुरिएको दृष्य आँखैमा लिएर टुँडिखेलमा ‘सुरक्षित’ रहने प्रयास गरिरहेकी थिइन । उनको मनमा रहेको पीडा सायद आसु र चित्कारले मात्र अभिव्यक्त गर्न सकिरहेको थिएन । टुँडिखेलमा उभिएका मान्छेका मन, मष्तिष्कमा दर्दनाक पीडाका श्रृंखला मात्र थिए । सुरक्षित भनिएको त्यही एउटा स्थान पनि एकै छिनमा पीडाको पोखरी बन्यो ।
टुँडिखेलको डिलबाट हेर्दा पो वरी परिका उजाड वस्तीका वास्तविक स्वरुप देखियो । सानोसिरुवारी, पिपलडाँडा तिरका कुनै घरहरु सग्ला देखिदैन थिए । ढुङ्गामाटाका घरहरु सोत्तर भएका थिए । जिल्ला विकास समिति, कृषि विकास कार्यलय, जिल्ला कारागार लगाएतका भवनहरु सबै ढलेका थिए । शनिवारको दिन सरकारी कार्यलयहरु बन्द रहने भएकोले चौतारा अलि सुनसानै थियो । नत्र यति साँघुरो बजारमा हुने मान्छेको भिड र त्यो दिनको घटना हामी कल्पना मात्र गर्न सक्छौं ।
एकै छिनमा सेनाको उद्धार टोली बजार छिचोलेर टुडिखेल निस्कियो । भूकम्प गएको २० मिनेट पनि क्रस भएको थिएन होला सायद । लक्ष्मण डाँडा व्यारेक देखि टुँडिखेलसम्म पुग्न सामान्य अवस्थामा पनि २० मिनेट पर्याप्त समय होइन । यद्यपी यसबीचमा नेपाली सेनाले घाइतेलाई उद्धार गरिकन तन्दामा झुण्ड्याउदै टुँडिखेल पु¥यायो । त्यो अदम्य शाहस र जिम्मेवारी बोधको एउटा शाहसिक उदाहरण थियो । अन्य निकाय तथा अंगहरुका आपतकालिन प्रतिक्रिया बारे अहिलेलाई कमेण्ट नगरौं होला । जे होस ! भुइचालो आइरहदा धर्ती हल्लियो । तर नेपाली सेना उद्धारका लागि खटियो । उ भुइचालो रोकिउन्जेल कुरेर बसेन । उसले पहिलो झड्का मै काम थाल्यो । र काम गरिरह्यो ।
सेनाको उद्धारटोलीले ल्याएका घाइतेका बिस्कुनले टुँडिखेल ढाक्न थाले पछि भय झन बढ्न थाल्यो । टुँडिखेलमा रुवाबासी अझै चर्किन थाल्यो । कोही केही बोल्न सकिरहेका थिएनन् । मध्यबजार तिरबाट मुस्किलले निस्किएका मान्छेहरुले पनि खवर डरलाग्दै लिएर आउथे । धरहर भाँचिएका, दरवार स्क्वायर पल्टिएका, अग्ला अग्ला घरहरु धसिएका खवर आइरन्थ्यो । यसले आतंक अझै बढाइरहेको थियो । विपत्ती सामना गर्ने हाम्रो तयारी विल्कुलै थिएन । यस्तो लाग्थ्यो हामी एक पछि अर्को दुखद खवरको प्रतिक्षा मात्र गरिरहेका थियौं ।
त्यो दुर्भाग्यपूर्ण दिनको वार्षिकीहरु बढ्दै जादा विपत्तीले वनाएका घाउ बिस्तारै खाटा बस्दैछन् । भूकम्पले खण्डहर बनेको बस्तीमा चहलपहल बढेको छ तर खुशी पलाएको छैन । त्यो बैशाख १२ को त्यो आतंकपूर्ण दिन चाहेर पनि बिर्सन सकिन्न यद्यपी यसबाट पाठ सिकेर विपत्तीको पूर्वतयारी गर्नका लागि हामीसंग अझै समय छ । तर के हामी तयार छौं ?
__२०७५ बैशाख १२
